शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 19, 2012

राजु बास्कोटा, फागनु ६, काठमाडौं । पर्यटक आकर्षणका लागि दक्षिण एशियामै पहिलोपटक नेपालमा नयाँ साहसिक खेल जिपलाइन (डोरीमा झुण्डिएर खेलिने खेल) शुरू गरिने भएको छ । हाइग्राउण्ड एड्भेञ्चर नेपालले सो खेललाई नेपाल भित्रयाउन लागेको सो कम्पनीका बजार प्रबन्धक नीरज श्रेष्ठले अभियानलाई बताए । उनले भने, ‘यो खेल आउँदो १ महीनाभित्र शुरू गर्ने किसिमले तयारी भइरहेको छ ।’ उनले यो खेल दक्षिण एशियामै पहिलोपटक नेपाल भित्रयाइएको दाबी पनि गरे । कम्पनी मङ्सिर १ गते उद्योग विभागमा दर्ता भइसकेको छ । कम्पनीका अनुसार यो खेल पोखराको सराङकोटस्थित पाडली गाविस, वडा नं. ४ मा सञ्चालन गरिनेछ । खेल सञ्चालनका लागि भइरहेको तयारी अन्तिम अवस्थामा पुगेकाले मार्चको दोस्रो साता परीक्षण गरी औपचारिक रूपमा शुरुआत गरिने श्रेष्ठले जानकारी दिए । यो खेल यूरोपेली देशबाट शुरू भएको हो ।

सो खेल नेपाल भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ प्याकेज हुने हाइग्राउण्ड एड्भेञ्चरले बताएको छ । कम्पनीमा करीब रू. ५ करोड लगानी रहेको छ । बजार प्रबन्धक श्रेष्ठले कम्पनीमा नेपालको प्रमुख औद्योगिक घराना गोल्छा अर्गनाइजेशनसहित मङग्लम् इण्डष्ट्रिजको लगानी रहेको बताए ।

उनका अनुसार गोल्छा अर्गनाइजेशनका तर्फबाट भरत गोल्छा तथा मङ्गलम् इण्डष्ट्रिजका तर्पmबाट शशी चुडीवालको कम्पनीमा लगानी रहेको छ । कम्पनीले आन्तरिक र बाह्य गरी वार्षिक ९ हजार जनालाई खेलमा सहभागी गराउने लक्ष्य राखेको छ ।

यो खेल २ हजार फीट माथिबाट खेलिन्छ । खेलको दूरी १ दशमलव ८ किलोमिटर हुने श्रेष्ठले जानकारी दिए । सामान्यतया २ मिनेटको हुने सो साहसिक खेल खेल्न प्रति व्यक्ति नेपालीले रू. ४ हजार र विदेशीले १ सय डलर तिर्नु पर्ने व्यवस्था गर्न लागिएको कम्पनीले बताएको छ ।

साहसिक पर्यटनका कुनै पनि गतिविधि सञ्चालन गर्न पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन उद्योग महाशाखाबाट र जमीन छाडेर हावामा तैरिँदै गरिने हवाई गतिविधिको अनुमति सोही मन्त्रालयअन्तर्गतको हवाई महाशाखाबाट लिनु पर्ने प्रावधान छ । हाइग्रा उण्ड एड्भेञ्चरले पर्यटन मन्त्रालयबाट भने अनुमति लिएको छैन ।