फाल्गुन ७, काठमाडौं (अस) । अर्थमन्त्री वर्षमान पुनले जनकपुर चुरोट कारखाना (जचुका) तत्काल निजीकरण नगर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आइतवार सार्वजनिक संस्थानहरुको विषयमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । सरकारले जचुकालाई तत्काल सञ्चालन प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
उनले भने, ‘उद्योग मन्त्रालय सकारात्मक भएमा उद्योगको सम्पत्ति बैङ्कमा धितो राखी कर्जा लिएर उद्योग सञ्चालन गरिनेछ ।’ त्यस विषयमा उद्योगमन्त्रीसँग कुरा भइरहेको पनि पुनको भनाइ थियो ।
सो उद्योग गत साउनयता बन्द छ । सञ्चित नोक्सानीमा चलेको यो कम्पनीमा करीब ९ सय कर्मचारी छन् । उद्योग व्यवस्थापनले उद्योग सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु. १ अर्बभन्दा बढी रकम माग गरेको छ ।