फाल्गुन ८, काठमाडौं (अस) । केमिड्रग इण्डष्ट्रिज प्रालिले विश्व स्वास्थ्य सङ्गठनबाट कुशल उत्पादन प्रमाणपत्र (जीएमपी) पाएको छ । जीएमपीलाई उच्च गुणस्तरको मापनको रुपमा लिइन्छ । ट्याब्लेट, क्याप्सुल, तरल र मलमलगायत विभिन्न २७ ब्राण्डबाट उत्पादन थालेको कम्पनीले अहिले ८४ ब्राण्डका औषधि उत्पादन गर्दै आएको बजार निर्देशक राजेश कर्माचार्यले बताए ।
उनले भने, ‘औषधिको गुणस्तरमा सधैं जोड दिँदै आएका हामी जीएमपी पाएपछि थप जिम्मेवार भएका छौँ ।’ सो कम्पनी निजीक्षेत्रबाट स्थापित नेपालको पहिलो औषधि कम्पनी हो । कम्पनी विसं २०२७ मा स्थापना भएको थियो । कर्माचार्यले थप नयाँ औषधिको उत्पादन गर्ने र विदेशमा समेत निर्यात गर्ने लक्ष्य कम्पनीको भएको पनि जानकारी दिए । रु. ३० करोड लगानी रहेको सो कम्पनीमा करीब डेढ सय कर्मचारी कार्यरत छन् ।