फागुन ९, सङ्खुवासभा । उत्तर– दक्षिण कोशीमार्गको बाँकी भागको सर्वे पनि पूरा भएको छ । जिल्लाको पाथिभरास्थित एकुवाबाट किमाथाङ्का नाकासम्मको ८५ किलोमिटरको सर्वे सकिएपछि सो सडकको सर्वे पूरा भएको उत्तर–दक्षिण कोशी सडक कार्यालय, सङ्खुवासभाले बताएको छ । सो कार्यालयका इञ्जिनीयर महम्मद गनिले भने, ‘अब सो सडक खण्डको डिजाइनको काम बाँकी छ ।’
नेपाल–भारतको सीमा विराटनगर–जोगबनीबाट शुरू हुने यो सडक नेपाल–चीनको सीमामा पर्ने किमाथाङ्का–तिब्बतमा पुगेर टुङ्गिन्छ । सर्वेअनुसार सो सडकको २ सय ५६ किमी सङ्खुवासभा जिल्लामा पर्ने भएको छ । त्यसमध्ये वसन्तपुर–नुम १ सय ५३ किमी सडक सञ्चालनमा आइसकेको छ । कार्यालयका अनुसार १ सय ३ किमी खण्डको भने ट्र्याक खोल्न बाँकी छ ।
सो ट्र्याक खोलिएपछि कोशी सडकले किमाथाङ्का नाका छुनेछ । वसन्तपुर–चैनपुर ५१ किमी खण्डमा २०६५ सालमा पातलो कालोपत्रे (ओटासिल) गरिएको भए पनि अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेकाले जिल्लाको पूरै सडक कालोपत्रे गर्नु पर्ने अवस्था भएको पनि सो कार्यालयले बताएको छ । सो सडकबाहेक जिल्लामा ८७ किमी कच्ची सडक रहेको छ ।
यो सडकको अन्तिम खण्डको सर्वे भर्खरै पूरा भए पनि सङ्खुवासभा बाहेकका जिल्लामा भने सडक निर्माण भई कालोपत्रेसमेत भइसकेको छ । सङ्खुवासभामा पर्ने सडक खण्ड निर्माणका लागि सडक विभागले ठेक्कासमेत दिइसकेको कार्यालयले बताएको छ । तर, पहिल्यै ओटासिल गरिएको वसन्तपुर–चैनपुर सडक खण्डको पुनः निर्माणका लागि भने कसैले ठेक्का लिएको छैन ।
चैनपुर–सभा २५ किलोमिटर र सभा–खाँदवारी १८ किलोमिटर सडकमा डबल पिचका लागि दुईओटा निर्माण कम्पनीले ठेक्का लिएका छन् । दुवै कम्पनीले सन् २०११ डिसेम्बरबाट २ वर्षभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेर माघदेखि कामसमेत थालिसकेका छन् । सडक निर्माणमा एशियाली विकास बैङ्कको सहयोग रहेको छ । चैनपुर–सभा सडक निर्माणका लागि स्वच्छन्द–सूर्य एण्ड सन्स नामक कम्पनीले साढे ११ करोड रुपैयाँमा ठेक्का लिएको छ । त्यस्तै सभा– खाँदबारी सडक निर्माणका लागि आशिष निर्माण सेवाले साढे १२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
सो सडकको खाँदबारीदेखि मत्स्यपोखरीको कुवापानीसम्मको खण्डको स्ट्रक्चर डिजाइन र ग्राभेलका लागि रू. ७ करोड ४० लाखमा बीटी फ्युचर स्टार कम्पनीले ठेक्का लिएको थियो । गत माघ २० गते सम्ममा काम सम्पन्न गर्ने सम्झौता भए पनि सो अवधिसम्ममा २० प्रतिशत काम पनि नसकिएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै जिल्लाकै नुम गाविसमा पर्ने सोही सडकको ३७ किलोमिटर खण्ड र अरुण नदीको फ्याक्सिन्दामा फेरी निर्माणको कामको जिम्मेवारी लिएको लामा–एलाइट–मैनाचुली निर्माण सेवा (जेभी) ले आगामी चैत २२ गतेसम्ममा काम सम्पन्न गर्ने सम्झौता गरेको भए पनि सो समयमा काम पूरा हुने सम्भावना देखिएको छैन ।
रू. ७ करोड ५३ लाखको लागतमा जिल्लाको देउराली–एक्वा सडकको ट्र्याक खोल्ने र फेरी निर्माणको जिम्मेवारी लिएको (जेभी) ले धरान–चतराको फेरीलाई कुन बाटोबाट सङ्खुवासभा लैजाने भन्ने निर्णय गर्न नसक्दै फेरी निर्माणको लागि तोकिएको समय सकिन लागेको छ । फेरी निर्माणमा ढिलाइ हुँदा ट्र्याक खोल्ने काम पनि रोकिएको छ ।