शान्ति र संविधानले निर्धारित समयमा नै पूर्णता पाउला ?
Administrator
Posted on: Feb 22, 2012

फागुन ९, काठमाडौं । सरकारले थप पाँच देशसँग श्रम सम्झौता गर्ने भएको छ । नेपाली कामदारको मुख्य गन्तव्यका रूपमा रहेका ती मुलुकसँग चालू आर्थिक वर्षको अन्त्यसम्ममा श्रम सम्झौता गरिने श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले अभियानलाई बताए । ‘सोका लागि आन्तरिक गृहकार्य भइरहेको छ,’ उनले भने, ‘केही समयभित्रै परराष्ट्र मन्त्रालय मार्फत कूटनीतिक पहल थाल्नेछौं ।’
खड्काका अनुसार सम्झौता गर्न लागिएका देशहरूमा मलेशिया, लेबनन, जोर्डन, इजरायल र ओमन छन् । मन्त्रालयले मलेशिया, लेबनन र इजरायलसँग श्रम सम्झौता गर्ने प्रक्रिया पहिले नै थालेको थियो । श्रम सम्झौता भएपछि नेपाली कामदारले सम्बन्धित देशका कामदारले पाउने तलब, ओभरटाइम, जिउधनको सुरक्षालगायत सुविधा पाउनेछन् ।

अहिले नेपाली कामदार त्यस्तो सुविधा पाउनबाट वञ्चित छन् । साथै कुनै पनि नेपाली कामदारलाई अप्ठ्यारो परेमा उनीहरूलाई कानूनी उपचार दिलाउनसमेत सजिलो हुने मन्त्रालयको भनाइ छ । हाल श्रम सम्झौता अभावकै कारण वैदेशिक रोजगारीमा गई मृत्यु भएका कतिपय कामदारको शव नेपाल ल्याउनसमेत सकिएको छैन ।

श्रम सम्झौता प्रक्रियालाई अघि बढाइए पनि सम्बन्धित राजनीतिक नेतृत्वको उदासीनताका कारण काम अघि बढ्न ढिलाइ भइरहेको स्रोतको भनाइ छ । ‘श्रम सम्झौताका लागि सम्बद्ध देशका सम्बन्धित मन्त्रीबीच कुराकानी हुनु आवश्यक भए पनि दुवै देशका राजनीतिक नेतृत्वले खासै चासो देखाएका छैनन्,’ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव कुमुद खनालले बताए । मन्त्रालयले श्रम सम्झौतासम्बन्धी ड्राफ्ट तयार गरिरहेको प्रवक्ता खड्काले जानकारी दिए । ड्राफ्ट तयार भएपछि परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशमा पठाइनेछ ।

श्रम सम्झौताका लागि दुई देशबीच सैद्धान्तिक सहमति हुनु आवश्यक छ । तर, नेपालले अघि सारेका कतिपय बुँदालाई सम्बन्धित देशले अस्वीकार गरेकाले श्रम सम्झौता हुन नसकेको स्रोतले बताएको छ । अघिल्ला वर्षहरूमा जे भए पनि चालू आवमा श्रम सम्झौतालाई प्रमुख प्राथमिकताका साथ अघि बढाइने मन्त्रालयले बताएको छ ।

रोजगारदाता देशसँग श्रम सम्झौता भएपछि नेपाली कामदारको हकहितको सुरक्षा हुनुका साथै कानूनी रूपमा नेपाली कामदार बलियो हुने मन्त्रालयको भनाइ छ । त्यसैले पनि कतिपय देशले त्यस्तो सम्झौता गर्न अस्वीकार गरेको स्रोतले बताएको छ ।

केही समयअघि नेपालले मलेशियासँग श्रम सम्झौता गर्न सबै तयारी गरेकोमा मलेशियाले १ लाख घरेलु कामदार दिएमा मात्र श्रम सम्झौता गर्ने अड्को थापेको थियो । ‘श्रम सम्झौता हुनका लागि कामदार पठाउने तथा कामदार लिने दुवै देश तयार हुनुपर्छ,’ मन्त्रालयस्रोतले भन्यो, ‘तर, रोजगारदाता देशहरू यसका लागि तयार नै हुँदैनन् ।’ श्रम सम्झौताका लागि रोजगारदाता देशलाई पटकपटक आग्रह गरिएको मन्त्रालयले बताएको छ ।

म्याद सकिएका सम्झौताको पुनरवलोकन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यसअघि गरिएका कतिपय देशको श्रम सम्झौता पुनरवलोकन गर्ने भएको छ । ती देशसँगको श्रम सम्झौताको म्याद सकिएकाले पुनरवलोकन गर्न लागिएको प्रवक्ता बुद्धिबहादुर खड्काले बताए । ‘यसअघि भएका प्रायःजसो सम्झौताको म्याद सकिइसकेको छ,’ उनले भने, ‘ती श्रम सम्झौताको चालू आवभित्रै पुनरवलोकन गरिनेछ ।’

मन्त्रालयले यसअघि कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, जापान र दक्षिण कोरियासँग श्रम सम्झौता गरेको थियो । यसअघि भएका श्रम सम्झौतामा केही बुँदा थपघट गर्नुपर्नेसमेत मन्त्रालयले बताएको छ । मन्त्रालयले यस सम्बन्धमा पनि आवश्यक तयारी गरिरहेको बताइएको छ ।