Latest posts by सरु (see all)
काठमाडौं । नीतगत सुधार भए नेपाली अर्थोडक्स चिया निर्यातको पर्याप्त सम्भावना रहेको व्यवसायीले बताएका छन् । अर्थोडक्स चियालाई व्यावसायिक ढङ्गले विस्तार गर्न सके निर्यात प्रवर्द्धन, रोजगारी सृजना र कृषकको जीवनस्तरमा उल्लेख्य सुधार गर्न सघाउ पुग्ने व्यवसायीको धारणा छ । अर्थोडक्स चियासम्बन्धी एक दिने राष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी व्यवसायीले सो धारणा राखेका हुन् ।
नेपाल उद्योग परिसङ्घका वरिष्ठ उपाध्यक्ष सतीशकुमार मोरले डेनमार्क सरकार र अन्तरराष्ट्रिय श्रम सङ्गठनको प्राविधिक तथा वित्तीय सहयोगमा ‘उन्नति’ नामक संस्थासँगको साझेदारीमा हाल नेपाल उद्योग परिसङ्घले अर्थोडक्स चिया, अलैंची, अदुवा र दूधको व्यावसायिक उत्पादनलाई वृद्धि गर्ने परियोजना सञ्चालन गरिरहेको जानकारी दिए । नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरमा सञ्चालित उक्त परियोजनाले त्यस्ता कृषि उपजको उत्पादन र उत्पादकत्वमा वृद्धि गरी स्थानीय कृषकको जीवनस्तरमा सुधार गर्ने लक्ष्य राखेको मोरले बताए । सम्बन्धित जिल्लाबाट आएका कृषक, सहकारी संस्थाका प्रतिनिधि, हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एशोसिएशन, हिमालयन को–अपरेटिभलगायत सहभागी रहेको सो गोष्ठीमा अर्थोडक्स चियाको उत्पादनदेखि निकासीसम्म रहेका विभिन्न नीतिगत समस्या, चुनौति र गतिरोध न्यून गर्ने उपायबारे छलफल भएको परिसङ्घले जानकारी दिएको छ ।