Latest posts by सरु (see all)
कात्तिक २३, काठमाडौं (अस) । बुधवारदेखि लिलामीमा आएको मुक्तिनाथ विकास बैङ्कको सर्वसाधारण तर्फको शेयर सङ्ख्यामा कमी आएको छ । बैङ्कले बाँडफाँटको क्रममा रितपूर्वक आवेदन परेको ३ हजार ८ सय ५२ कित्ता शेयरलाई समायोजन गरेकाले उक्त शेयरमा कमी आएको हो । कम्पनीले शेयर सङ्ख्या घटाएको सूचना जारी गरी जानकारी गराएको छ । यस सूचनालाई आधार मान्दा मुक्तिनाथले कात्तिक २३ देखि ३० गतेसम्मका लागि सर्वसाधारण तर्फको १ लाख ३१ हजार १ सय ५५ दशमलव ५३ र संस्थापक तर्फको २७ हजार ७ सय ६५ दशमलव ५१ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा आएको छ । यस अघिको सूचनामा सर्वसाधारण तर्फको १ लाख ३५ हजार ३७ दशमलव ५३ कित्ता शेयर लिलाम विक्री गर्ने उल्लेख थियो ।
यस शेयरको मूल्य न्यूनतम रू. सय तोकिएकाले सोभन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम सय कित्ताका लागि आवेदन दिन सकिने यस हकप्रदमा अधिकतमका लागि भने कुनै हद तोकिएको छैन । यसमा विक्री प्रबन्धकको काम एनआईबिएल क्यापिटलले गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनपछि मुक्तिनाथले उपत्यकाबाहिरबाट पनि यस शेयरमा आवेदन दिन सकिने व्यवस्था गरेको छ । लगानीकर्ताले विक्री प्रबन्धक तथा मुक्तिनाथ विकास बैङ्कको केन्द्रीय कार्यालयसँगै शाखा कार्यालय पोखरा, वीरगन्ज र बुटवलबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैङ्कको विराटनगर, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
यसअघि भदौ ४ देखि असोज ८ गते सम्म १० बराबर ४ को अनुपातमा ६१ लाख ७० हजार ८ सय ६५ दशमलव शून्य ४ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको शेयर बैङ्कले लिलामीमा ल्याएको हो ।