Latest posts by सरु (see all)
सिङ्गापुर । सन् २०१७ को तेस्रो त्रैमासमा विश्वमा सुनको मागमा कमी आएको हालै सार्वजनिक भएको एक प्रतिवेदनले देखाएको छ । वल्र्ड गोल्ड काउन्सिल (डब्ल्यूजीसी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तर अमेरिकी क्षेत्रका लगानीकर्ताको सुनप्रतिको रुचि घट्दै गएको र भारतमा सुनका गहनाको विक्रीमा आइरहेको कमीका कारण जुलाई–सेप्टेम्बर अवधिमा विश्वमा सुनको माग ८ वर्षयताकै न्यून विन्दुमा ओर्लिएको छ । गतवर्षको सोही अवधिको तुलनामा यो वर्षको तेस्रो त्रैमासमा विश्वमा सुनको माग ९ प्रतिशत घटेको डब्ल्यूजीसीले सार्वजनिक गरेको गोल्ड डिमाण्ड ट्रेण्ड्स शीर्षकको प्रतिवेदनले देखाएको हो । त्यस्तै, यो वर्षको अहिलेसम्मको समयमा विश्वमा सुनको माग १२ प्रतिशतसम्म घटिसकेको छ । लगानीकर्ताको सुन मागमा आएको २८ प्रतिशतको कमीका कारण विश्वमा सुनको माग घट्न टेवा पुगेको हो । उता, भारतमा लागू भएको अमौद्रिकीकरण तथा वस्तु तथा सेवा कर (जीएसटी)का कारण त्यहाँको गहना माग घट्दा सुनको विश्वव्यापी माग प्रभावित बनेको हो । गतवर्षको तेस्रो त्रैमासमा ४ सय ७८ दशमलव ७० टन सुनका गहना खपत भएकोमा यो वर्षको सोही अवधिमा गहनाको माग ४ सय ८५ दशमलव ३ टनमा समेटिएको बताइएको छ । पछिल्लो समय सुनले शेयर बजारमा भएको कीर्तिमानी वृद्धिसँग प्रतिस्पर्धा गर्नुपरेकाले पनि मागमा कमी आएको हुन सक्ने विश्लेषण गरिएको छ ।
सुनको भाउमा वृद्धि
यसैबीच बिहीवार अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । डलरको भाउ कमजोर बनेकाले लगानीकर्ताहरू सुरक्षित लगानीका रूपमा सुनतिर आकर्षित भएका कारण पहेँलो धातुको भाउले टेवा पाएको हो । बुधवार सिङ्गापुरको कोमेक्स डिभिजनमा बजार बन्द हुँदा प्रतिऔंस १ हजार २ सय ८१ डलर ६० सेण्टमा पुगेको सुनको भाउ बिहीवार पनि थप शून्य दशमलव ४१ प्रतिशत बढेको थियो । बुधवार सुनको भाउ शून्य दशमलव ३ प्रतिशत बढेर ३ हप्ताकै उचाइमा पुगेको थियो । बिहीवार यो समाचार तयार पार्दासम्म साँझको ५ः५५ बजे सुनको भाउ प्रतिऔंस १ हजार २ सय ८६ डलर ८० सेण्टमा आएको थियो । त्यस्तै, उक्त दिनको कारोबारमा कोमेक्सको भाउ प्रतिऔंस १ हजार २ सय ८७ डलर ४१ सेण्टको अधिकतम र १ हजार २ सय ८० डलर १९ सेण्टको न्यूनतम विन्दुबीच रह्यो । त्यस्तै, डिसेम्बर डेलिभरीको यूएस गोल्ड फ्युचर्सको भाउ पनि शून्य दशमलव २ प्रतिशत बढेर प्रतिऔंस १ हजार २ सय ८७ डलर १३ सेण्टमा किनबेच भयो । एजेन्सीहरू