Latest posts by सरु (see all)
काठमाडौं (अस) । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दक्षिण एशिया आर्थिक सम्मेलनअन्तर्गतका छलफल र धारणाहरूले नीति निर्माणको लागि बाटो पहिल्याउने अपेक्षा व्यक्त गरेका छन् । मङ्गलवारदेखि काठमाडौंमा शुरू भएको दशौं दक्षिण एशिया आर्थिक सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले व्यापार तथा पारवहन सहजीकरण र दक्षिण एशिया स्वतन्त्र व्यापार क्षेत्रअन्तर्गत व्यापारको संवेदनशील सूची घटाउन गरेको पहलका सम्बन्धमा उद्धृत गर्दै यसलाई सार्क देशहरूसँग सहकार्य र सहयोग आदानप्रदान गर्ने नेपालको तत्परताको रूपमा ग्रहण गर्न आग्रह गरे ।
दिगो विकास हासिल गर्नका लागि मन्त्री, विधायक, नीति निर्माताहरूबाट क्षेत्रीय एकतामा जोड दिँदै सम्मेलन शुरू भएको छ । ‘दक्षिण एशियामा समावेशी र दिगो आर्थिक विकासका लागि गहन आर्थिक एकता’ विषयक सम्मेलन राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोन्मेण्ट (सावती) को संयुक्त आयोजनामा कात्तिक २८ देखि ३० गतेसम्म चल्नेछ ।
वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले दिगो विकास, स्थायी शान्ति र आर्थिक समृद्धिका लागि दक्षिण एशियाको साझा मञ्चलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा भुटानका अर्थमन्त्री ल्योन्पो लेके दोर्जीले दक्षिण एशियामा आर्थिक एकताका चुनौतीहरूका विषयहरूको सम्बन्धमा चर्चा गर्दै विद्यमान चुनौतीहरू सम्बोधन भई दक्षिण एशियामा आर्थिक सम्भावना उजागर हुने अपेक्षा व्यक्त गरे ।
उद्घाटन सत्रका क्रममा ‘रिइम्याजिनिङ साउथ एशिया इन २०३०’ विषयक पुस्तक विमोचन गरिएको थियो । उक्त पुस्तक गतवर्ष ढाकामा सम्पन्न नवौं दक्षिण एशिया आर्थिक सम्मेलनका कार्यक्रमहरूको संङ्ग्रह हो । प्रतिष्ठित अनुसन्धाता, प्राज्ञ, विज्ञ, कूटनीतिज्ञलगायत विभिन्न ३ सयभन्दा बढी सहभागीहरू रहेको उक्त कार्यक्रममा तीन दिनमा १४ समानान्तर सत्रहरू सञ्चालन हुनेछन् । सन् २००८ देखि शुरू भएको दक्षिण एशिया आर्थिक सम्मेलनको यो दशौं संस्करण हो ।