Latest posts by सरु (see all)
काठमाडौं (अस) । नेपाल उद्योग परिसङ्घ (सीएनआई) र फ्रष्ट एण्ड सुलिभनले पहिलोपटक आयोजना गरेको नेपाल बिजनेश एक्सिलेन्स अवार्ड सिप्रदी ट्रेडिङ कम्पनी र नेपाल एसबीआई बैङ्कले प्राप्त गरेका छन् ।
विश्वका विभिन्न देशमा यस प्रकारको अवार्ड प्रदान गर्दै आइरहेको फ्रष्ट एण्ड सुलिभनले सीएनआईसँगको सहकार्यमा नेपालमा यो अवार्ड कार्यक्रम आयोजना गरेको हो । अवार्ड विभिन्न विधामा वितरण गरिएको थियो ।
अवार्ड वितरण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले लामो समयको राजनीतिक सङ्क्रमण, भूकम्पलगायतका समस्याबाट नेपाल अगाडि बढिरहेको बताउँदै देशमा अर्थतन्त्रको विकासका लागि उद्योगहरूको विकास जरुरी रहेको बताए । उनले कम्पनीहरूको नाफा मात्र नहेरी पारदर्शिता, व्यावसायिक नैतिकता तथा उपभोक्ताको हितलाई समेत ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सीएनआईका अध्यक्ष हरिभक्त शर्माले यस प्रकारका अवार्डले व्यावसायिक क्षमता अभिवृद्धिमा सघाउ पुग्ने बताउँदै आउँदा दिनमा यसलाई थप परिमार्जन गर्दै लैजाने बताए । कार्यक्रममा फ्रष्ट एण्ड सुलिभनका ग्लोबल प्रेसिडेण्ट अरूप जुत्सी, निर्देशक नीतिन कलोथियाले सुलिभनले विश्वका विभिन्न मुलुकमा यस प्रकारका कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका अवार्डले कम्पनीहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताए ।