Latest posts by सरु (see all)
दोलखा । दोलखामा निर्माणाधीन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाको कूल ८ दशमलव ५ किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको बाँकी रहेको २ मिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको हो ।
मुख्य सुरुङमध्ये सबैभन्दा कठिन मानिएको ‘एचटी थ्रीदेखि एचटी फोर’सम्मको बाँकी रहेको २ मिटर सुरुङ आइतवार विहान ‘ब्रेक थ्रु’ भएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । २०७२ वैशाखको भूकम्पका कारण आयोजनाको मुख्य सुरुङको निर्माण कार्य डेढ वर्ष स्थगित गर्नुपरेको थियो ।
मुख्य सुरुङको ‘ब्रेक थ्रु’पछि ‘एचटी थ्री’बाट प्रवेश गरेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ‘एचटी फोर’बाट प्रवेश गरेका ऊर्जा सचिव अनुपकुमार उपाध्यायले एकअर्कालाई अङ्कमाल गरी बधाई आदान प्रदान गरेका थिए । सुरुङको ‘ब्रेक थ्रु’को स्थलगत निरीक्षणका लागि ऊर्जा सचिव उपाध्याय, कार्यकारी निर्देशक कुुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरे, प्रवीण अर्याल, कम्पनीका सञ्चालक, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा बीमा संस्थानका प्रतिनिधिहरू आएका थिए ।
दुई तिरबाट एकसाथ खनिएको सुरुङ एकै पटकमा सफल ब्रेक थ्रु हुनु जलविद्युत् आयोजना निर्माणको क्रममा सबैभन्दा खुशीको दिन भएको ऊर्जा सचिव उपाध्यायले प्रतिक्रिया दिए । आयोजनाको अत्यन्त कठिन कार्यको रूपमा रहेको २ ओटा ठाडो पेनस्टक साफ्टहरूमध्ये ३ सय ११ मिटर अग्लो माथिल्लो पेनस्टक साफ्ट गत भदौमा र ३ सय ७३ मिटर अग्लो तल्लो पेनस्टक साफ्ट २०७१ माघमा ‘ब्रेक थ्रु’ भई अन्य कार्यसमेत सम्पन्न भइसकेको आयोजनाले बताएको छ ।
आयोजनाको हेडवक्र्सको ९० प्रतिशत र भूमिगत विद्युत्गृहको सिभिल निर्माण कार्य ९९ सय प्रतिशत पूरा भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए । आयोजनाको कूल साढे ९२ प्रतिशत निर्माण कार्य पूरा भइसकेको छ । आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकोमा डलरको सटही दर वृद्धि, निर्माण अवधिको ब्याज, भूकम्प, नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।