Latest posts by सरु (see all)
वीरगञ्ज । नेपालले तेस्रो मुलुकसँगको व्यापारमा अहिलेसम्म अधिक चल्तीमा ल्याएको कोलकाता बन्दरगाहमा कण्टेनरको जामबाट स्वदेशी आयातकर्ता हैरानीमा पर्दै आएका छन् । कोलकाता बन्दरगाहको अव्यवस्थित सञ्चालन, जीर्ण र साँघुरिएको संरचना, पुरानो प्रविधिलगायतलाई समस्याको औसत कारण मानिएको छ । कोलकाताको अव्यवस्थासँगै वर्षेनि बढ्दो व्यापार व्यवस्थापनमा पूर्वतयारीको अभावले पनि कोलकातामा जाम बढेको आयातकर्ता बताउँछन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सडक यातायात तथा पारवाहन समितिका संयोजक अशोककुमार टेमानी सरकारले कोलकातामा आयातकर्ताले भोग्दै आएको अप्ठ्यारोलाई समस्या नै नठानेको आरोप लगाउँछन् । ‘सरकार आयातनिर्यात व्यापारका समस्यामा आवश्यकजति गम्भीर देखिएकै छैन,’ संयोजक टेमानीले आर्थिक अभियानसित भने, ‘सरकारी उदासीनताको मार समग्र उद्योग र व्यापारमा परिरहेको छ ।’
दैनिक उपभोग्य वस्तुदेखि औद्योगिक कच्चा पदार्थसमेत आयातको भरमा चलेका कारण पारवहनमा निरन्तर अवरोधले उद्योग व्यवसाय प्रतिस्पर्धी बन्न नसकेको भनाइ सरोकारवालाको छ । ‘नेपाल–भारत द्विपक्षीय व्यापार सहजीकरणका लागि पटकपटक छलफल भए पनि हाम्रो सरकारी पक्षले सशक्तरूपमा समस्यालाई उठाउनै सकेको छैन,’ टेमानीको भनाइ छ ।
नेपालको वैदेशिक व्यापारको आँकडा वर्षेनि उकालो लागे पनि आवश्यकीय पूर्वाधारको प्रबन्ध र उपलब्ध संरचनाको उपयोग हुन नसक्दा व्यापार समस्याग्रस्त हुन पुगेको आयातकर्ताको गुनासो छ । व्यापार सहजीकरणको अभावमा सिपिङ एजेन्सी, कोलकाता पोर्ट, भारतीय रेलवे, वीरगञ्ज बन्दरगाहलगायतमा अर्बौं रुपैयाँ जरीवाना तिर्नु परिरहेको आयातकर्ता बताउँछन् ।
अयातकर्ताले बुझाउने जरीवानाको आकार वर्षैपिच्छे अर्बौं रुपैयाँमा पुग्ने आयातकर्ता एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव माधव राजपाल बताउँछन् । सरकारले आफ्नै स्वामित्वका भौतिक संरचनासमेत उपयोग गर्न नसक्दा आयातकर्ता जरीवानामा भारी बोक्न बाध्य भएको सचिव राजपालको भनाइ छ ।
कोलकाता र त्यहाँबाट रेलमार्फत मालसामान आइपुग्ने रक्सौलमा नेपाल सरकारको स्वामित्वमा २०/२० बिगाह जग्गा भए पनि त्यो उपयोगविहीन छ । ‘कोलकाता र रक्सौलको यो जग्गालाई गोदाम बनाएमात्र पनि रेलवेलाई तिर्नु परिरहेको जरीवानाको भार कम हुने थियो,’ सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले भने ।
पछिल्लो समयमा रेलमार्फत आएको मालसामान भित्रिने वीरगञ्ज–रक्सौल नाकामा बढेको जामका कारण कोलकातामा चाप देखिएको आयातकर्ता बताउँछन् ।
रक्सौलमा समयमै रेल अनलोड नभएपछि रेल्वेले कोलकातामा कण्टेनर लोडिङ अस्वीकार गर्छ । कोलकाता वा अन्य स्थानबाट यो रूटमा १० ओटा र्याक देखिएपछि रेल प्रशासनले नयाँ र्याक उपलब्ध गराउँदैन । रेलवेको रक्सौल गोदामको जामका कारण रक्सौल र वीरगञ्ज सुक्खा बन्दरगाह दुवैतिर आउने र्याक कटौतीमा पर्ने गरेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल प्रालिका वरिष्ठ अधिकृत अनिमेशकुमारले बताए । उनले आइतवार कोलकातास्थित कण्टेनर कर्पोरेशन अफ इण्डिया (कोन्कर)को यार्डमा मात्र ५ सय ४० ओटा कण्टेनर फर्वाडिङ नोट लिएर राखिएको बताए । योभन्दा बढी कण्टेनर कोन्करको यार्डबाहिरै रहने आयातकर्ताको अनुमान छ ।
बन्दरगाहमा महीनामा ४५ देखि ५० ओटासम्म कण्टेनर र्याक व्यवस्थापन गर्न सकिने भए पनि कात्तिकका ३६ ओटामात्रै आएको हिमालयन टर्मिनलले बताएको छ । असोजमा ३० ओटा र्याक भित्रिएका थिए । बितेको २ महीनामा ३० ओटा बोराबन्द कार्गो र ३५ ओटा फलाम बोकेका ओपेन कार्गो लिएर रेल आएको थियो ।
रेलवेले आवश्यकताजति र्याक उपलब्ध नगराएपछि कोलकाता बन्दरगाहमा कण्टेनर थुप्रिने क्रम बढेको छ । समयमा कण्टेनर ढुवानी नहुँदा आयातकर्ताले सिपिङ कम्पनीलाई जरीवाना बुझाउनुपर्छ । सिपिङ कम्पनीले कोलकातामा अनलोड भएदेखि १४ देखि २१ दिनसम्म कण्टेनर फिर्ताको समय दिन्छ । कण्टेनरलाई १ महीनाभन्दा बढी कोलकातामै लागिरहेको टेमानीले बताए । एउटा कण्टेनरमा कम्तीमा १० दिनको जरीवाना परिरहेको उनको दाबी छ । आयातकर्ताहरू व्यापारको वर्षेनि बढ्दो आकारलाई व्यवस्थापन गर्न अन्य विकल्पमा केन्द्रित हुनुपर्ने बताउँछन् । अयातकर्ताका राजेश क्याल वीरगञ्ज बन्दरगाहसम्म आइपुगेको रेलवेलाई अमलेखगञ्जसम्म विस्तार गरी पायक पर्ने ठाउँमा गोदामको व्यवस्था मिलाउँदा रक्सौल र कोलकाताको जामको समस्या समाधान हुने बताउँछन् । रेलसेवा विस्तार भए औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम ढुवानी सहज हुने दाबी क्यालको छ । भारतको सहयोगमा अहिले मोतिहारी–रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणको योजना अघि बढेको छ । ‘पाइपलाइनबाट पेट्रोलियममात्र ढुवानी हुन सक्छ । तर, रेलमार्गबाट अन्य वस्तुको ओसारपसार पनि सहज हुन्छ,’ आयातकर्ताको भनाइ छ ।
वीरगञ्जमा निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको नेपाल–भारत एकीकृत जाँच चौकी (आइसीपी) सञ्चालन भए कोलकाताको जामको समस्या निकासमा सघाउ पुग्ने आयातकर्ताको विश्वास छ । आईसीपी सञ्चालमा बहानाबाजी र भाखा सार्ने काममात्र भइरहेको निवर्तमान अध्यक्ष केडियाको अनुभव छ । भारततर्फको आईसीपी अघिल्लो वर्ष जेठमै उद्घाटन भए पनि नेपालतर्फको निर्माण अझै पूरा भएको छैन ।
आईसीपी सञ्चालनमा नआउञ्जेल सरकारले वीरगञ्ज नाकालाई चौबीसै घण्टा खुला राखेर भए पनि जामको समस्या न्यूनीकरण गर्नुपर्ने आयातकर्ताको सुझाव छ । रेलवेको रक्सौल यार्ड चौबीस घण्टा खुला भए पनि सीमावर्ती भन्सार कार्यालय बिहान ६ देखि राति १० बजेसम्ममात्रै खुल्ने गरेका छन् ।
केही समयअघि भारतकै विशाखापत्तनम् बन्दरगाह उपयोगको सम्झौता भए पनि कोलकाताको तुलनामा दोब्बर दूरीमा रहेको यो बन्दरगाहमा आयातकर्ता आकर्षित भएका छैनन् । यो बन्दरगाहबाट मालसामान ल्याउन प्रोत्साहन र आवश्यकीय प्रबन्ध गरिए कोलकातामा खेप्नु परेको असजिलो न्यूनीकरण हुने आयातकर्ता बताउँछन् । विशाखापत्तनम्को दोब्बर दूरी, अहिलेसम्म वाणिज्य दूतावास नखुल्नु र एजेण्टहरू उपलब्ध नहुनुजस्ता कारणले आयातकर्ता विकल्प भए पनि उपयोगमा उत्साहित देखिएका छैनन् ।