इलाम । निजी आवादीका गोलिया इलामका किसानका लागि नगदेबालीसरह आम्दानीको स्रोत बनिरहेको छ । २०४५ देखि वर्षेनि गोलियाको निर्यात हुँदै आएको छ । प्लाइउड बनाउने भेनियर उद्योगका लागि आवश्यक उत्तीस, चिलाउने, मलातो, मौवालगायतका नरम काठ भएका रुख यहाँ पाखोबारीबाटै विक्री हुने गरेको छ । गएको वर्षमा मात्र १४ करोड २१ लाख ६२ हजार रुपैयाँबराबरको गोलिया निजी आवादीबाट निकासी भएको जिल्ला वन कार्यालय इलामले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा किसानले बेचबिखन गरेको निजी आवादीको गोलियाबाट मूल्य अभिवृद्धि करमार्फत ३ करोड ९५ लाख ९० हजार जम्मा भएको छ । यस्तै निजी आवादी, जिल्ला वन पैदावार आपूर्ति समिति र सामुुदायिक वन विकासबाट निकासी भएको २६ लाख ६६ हजार क्युबिक फिट गोलियामार्फत ६ करोड ३९ लाख ५० हजार राजस्व जम्मा भएको छ । निजी आवादीका रुख कटानका लागि स्थानीय तहको सिफारिश, जग्गाको नक्सालगायतका कागजात तयार गर्नुपर्ने भएकाले यस्तो झन्झटिलो प्रक्रिया अन्त्य हुनुपर्ने व्यवसायी र किसानले औंल्याएका छन् ।
इलामको भूउपयोग तथ्याङ्कअनुसार ९३ हजार ८ सय ४९ हेक्टर क्षेत्रफलमा वन रहेको छ । यो जिल्लाको कुल क्षेत्रफलको करीब ५५ प्रतिशत हुन आउँछ । यहाँ सरकारद्वारा संरक्षित वन, सामुदायिक वन, धार्मिक वन र निजी वन रहेका छन् । निजी दर्ता भएका वनबाहेक सर्वसाधारणले आफ्नो पाखाबारी खेतमा लगाएका निजी वनको भने यकिन तथ्याङ्क पाइँदैन । जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले काठजन्य वन्य पदार्थमा भ्याट लाग्ने व्यवस्थाअनुसार निजी नम्बरी आवादीका काठमा पनि सोहीअनुसार भइरहेको बताए । उनले निजी आवादीका वन जङ्गलमा भएका गोलिया धान, मकै वा अन्य नगदेबाली सरह विक्री गर्न पाउनुपर्ने माग उठिरहेको भए पनि रुख काट्नुहुँदैन, वातावरण बिग्रन्छ भन्ने समाज पनि एकातिर रहेको बताए । पाखा वा बारीमा आफै उम्रिएका वा रोपेर हुर्काएका रुख १० वा १५ वर्षभित्रमा बेच्नयोग्य हुने किसानहरूले बताएका छन् । गोलिया व्यवसायीले किसानको बारीबाटै किनेर प्रक्रियाअनुसार निकासी गर्ने गरेका छन् ।
जिल्लामा निजी आवादीमा रहेको चिराइतो, मजिटोलगायतका जडीबुटीसमेत उत्पादन हुने गरेको छ । गत आवमा ३४ हजार २ सय ६९ केजी जडीबुटी निकासी भएको पाइएको छ । जिल्ला वन पैदावार आपूर्ति समितिमार्फत सालको गोलिया ९ हजार ६ सय २७ क्युबिक फिट विक्रीवितरण भएको वन कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
सामुदायिक वन विकासतर्फ सालको काठ समूहमा १३ हजार ४ सय १६ र अन्य जातको १ हजार ५ सय ५४ क्युबिक फिट विक्री वितरण भएको छ । उक्त वर्षमा समूह बाहिर सालको ६० हजार ६ सय ७८ क्युबिक फिट र अन्य जात ११ हजार ७ सय २१ क्युबिक फिट विक्रीवितरण भएको पाइएको छ ।