महेन्द्रबहादुर श्रेष्ठ
धितोपत्र बजारमा सूचीकृत कम्पनीका भित्री सूचना अर्थात् जुन सार्वजनिक नगरिएका जानकारी वा प्रकाशन नगरेका, जस्तै, कम्पनीमा ठूलो नोक्सान भएको, कम्पनी नाफामा गई बोनस शेयर वा लाभांश दिने घोषणा गर्न लागेको, मर्जर वा एक्वीजिशनमा जान लागेको आदिका आधारमा कुनै पनि धितोपत्र खरीद वा विक्री गरी फाइदा लिने कार्यलार्ई भित्री कारोबार भनिन्छ । धितोपत्र खरीद/विक्रीबाट भित्री सूचना प्राप्त गर्नेले लाभ प्राप्त गर्न सक्छ भने नगर्ने नोक्सानीमा पर्न सक्छ । कम्पनीले सार्वजनिक नगरेका सूचना कम्पनीका भित्री व्यक्ति, जस्तै सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, लेखापरीक्षक वा सल्लाहकारबाट कुनै समूहले जानकारी प्राप्त गरी धितोपत्र बजारमा धितोपत्र खरीद÷विक्री गरेमा भित्री कारोबार गरेको मानिन्छ ।
भित्री कारोबारबाट लगानी कर्तालाई हुन सक्ने नोक्सानीलाई ध्यानमा राखी नेपालका कानूनी व्यवस्थाले यस्तो कारोबार गर्नेउपर दण्डसजायको पनि व्यवस्था गरेको छ । भित्री कारोबार नियन्त्रण गर्न समयसमयमा कानूनी व्यवस्थामा हेरफेर भएको देखिन्छ । नेपालको शेयरबजार २०४६ पछि विकास भएको पाइन्छ भने भित्री कारोबार नियन्त्रण गर्न तत्कालीन कम्पनी ऐन २०५३ को दफा ५३ मा पब्लिक कम्पनीका सञ्चालक प्रबन्ध सञ्चालक, कम्पनीको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्ति र कम्पनी सचिव आफू कम्पनीमा बहाल रहँदासम्म सो कम्पनी वा त्यसको सहायक कम्पनीको धितोपत्रको कारोबार गर्न नपाउने व्यवस्था गरिएको थियो । सो व्यवस्थाको व्यापक विरोध हुनुका साथै शेयरबजारमा प्रभाव पर्न नसक्ने महसूस गरी कम्पनी ऐन २०६३ ले सो प्रावधान हटाएको छ । धितोपत्र बजारको खास विकास नभए पनि भित्री कारोबार नियन्त्रण गर्न तत्कालीन धितोपत्र कारोबार ऐन २०४० को दफा ३० ले भित्री खबरको आधारमा अनुचित लाभ कमाउन नहुने व्यवस्था गरेको थियो । सो व्यवस्थाअनुसार सङ्गठित संस्था धितोपत्र बजार वा कारोबार हुने धितोपत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने व्यक्तिले सार्वजनिक रूपमा प्रकाशित नभएको सम्बन्धित मूल्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्न सक्ने भित्री खबरको आधारमा धितोपत्र कारोबारबाट लाभ उठाउन वा त्यस्तो खबर वा जानकारी अरूलाई उपलब्ध गराउन नहुने व्यवस्था थियो । साथै उक्त ऐनको दफा १६(घ)ले धितोपत्र विनियम बजारमा सूचीकृत संस्था वा धितोपत्र व्यवसायी वा सम्बन्धित संस्थाका सञ्चालक वा कर्मचारी वा प्रतिनिधिले धितोपत्र कारोबार वा धितोपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने उद्देश्यले काम गर्न/गराउन नहुनेमा गलत वा भ्रामक सूचना प्रसारप्रचार गर्न, कारोबार नभएको धितोपत्रलाई कारोबार भएको भनी विश्वास दिलाउन, धितोपत्रको मूल्यमा कुनै परिवर्तन नभए पनि घटी वा बढी मूल्यमा कारोबार भएको देखाउन, धितोपत्र मूल्य घटी वा बढी भन्ने प्रभाव पारी धितोपत्र कारोबारमा प्रोत्साहित गर्न, गलत तथ्याङ्क देखाउन, कारोबार मूल्यमा अनुचित प्रभाव पार्ने किसिमका तोकिएबमोजिमका अन्य कामहरू गर्ने आदि व्यवस्था थियो । हाल धितोपत्र कारोबार ऐन २०४० खारेज भई धितोपत्रसम्बन्धी ऐन, २०६३ लागू भएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ ले भित्री कारोबार नियन्त्रण गर्न केही व्यवस्था गरेको छ । उक्त ऐनको दफा ९१(१)ले भित्री कारोबारका सम्बन्धमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीका आधारमा आफूले कारोबार गरेमा वा अरूलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने व्यवस्था गरेको छ ।
उक्त ऐनको दफा ९३ ले कस्तो अवस्थामा सूचना वा जानकारी सार्वजनिक गरेको मानिने भन्ने स्पष्ट पारेको छ, धितोपत्र बजारको विनियमबमोजिम कुनै कुरा लगानीकर्ता र उनीहरूको व्यावसायिक सल्लाहकारलाई सूचित गर्ने उद्देश्यले प्रकाशित गरेको भएमा, कुनै अभिलेखमा भएका सूचना वा जानकारीहरू कानूनबमोजिम सर्वसाधारणले हेर्न पाउने व्यवस्था भएको भएमा, धितोपत्र कारोबार गर्न चाहने कुनै पनि व्यक्तिले थाहा पाउन सक्ने गरी धितोपत्र बजारको कारोबार कक्षमा पुर्याउने व्यवस्था भएको भएमा, त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न वा हेर्न, प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले प्राप्त गर्न हेर्न सक्ने व्यवस्था भएको भएमा, सर्वसाधारणमध्ये कुनै खास वर्गलाई मात्र सूचित गरिएको भएमा, दस्तुर तिरेर मात्र सूचनाको जानकारी प्राप्त गर्ने व्यवस्था भएमा वा नेपाल राज्यबाहिर त्यस्तो सूचना वा जानकारी प्रकाशित भएको भएमा । उक्त ऐनले सूचना वा जानकारी सार्वजनिक गरेको अवस्थामा भित्री कारोबार गरेको नमानिने स्पष्ट पारेको छ ।
उक्त ऐनमा भित्री कारोबारसँग सम्बन्धित अन्य देहायका व्यवस्था पनि रहेको छ ।
क) ऐनको दफा ९४ ले झूटो कारोबार सम्बन्धमा ऐनको प्रयोजनका लागि देहायबमोजिमको कुनै कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झूटो कारोबार गरेको मानिनेछ : प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्र खरीद वा विक्री भएको भए पनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा, अर्कोले खरीद वा विक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरीद वा विक्री गर्ने प्रस्ताव गरेको भएमा ।
ख) ऐनको दफा ९५ मूल्यमा उतार चढाव गर्न नहुने व्यवस्था गरेको छ । कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानिने व्यवस्था छ ।
ग) ऐनको ९६ ले धितोपत्र बजारलाई प्रभावित पार्न नहुने व्यवस्था रहेको छ । धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा विक्री नगरोस् भन्ने उद्देश्यले धितोपत्रको बजार मूल्य बढाउने, बजार मूल्य घटाउने, बजार मूल्यलाई स्थिर बनाउने कार्य गर्न नहुने भनिएको छ ।
घ) ऐनका दफा ९७ झुक्याउने विवरणहरू दिन नहुने भनिएको छ । झूटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने, बदनियत साथ कुनै तथ्य वा जानकारी लुकाउने, बदनियत साथ झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्न नहुने भनिएको छ ।
ङ) दफा ९८ ले जालसाजीयुक्त कारोबारसम्बन्धी व्यवस्था गरेको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा ।
च) ऐनकोे दफा ९९ले जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने व्यवस्था गरेको छ, जसमा कुनै विवरण झूटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिएको छ ।
छ) ऐनका दफा ले १०० यस ऐनअन्तर्गत बनेको नियम तथा विनियमबमोजिम आफूले राख्नुपर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पुर्याउन नहुने व्यवस्था गरेको छ । उपर्युक्त कानूनी व्यवस्थाविरुद्ध गर्नेउपर ऐनको दफा १०१ ले दण्डसजायको व्यवस्था गरेको छ ।
बैङ्क तथा वित्तीय संस्थामा भित्री कारोबार नियन्त्रण गर्न बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा १२ ले धितोपत्र कारोबार गर्नमा बन्देजसम्बन्धी व्यवस्था गरेको छ । बैङ्क वा वित्तीय संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले १ वर्षसम्म सम्बन्धित बैङ्क वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरीद विक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन, हस्तान्तरण गर्न वा लेनदेन गर्न हुँदैन भन्ने व्यवस्था छ । उक्त ऐनविपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले जफत गरी राष्ट्र बैङ्कले तोकेबमोजिम विक्रीवितरण गर्नुपर्ने व्यवस्था गरेको छ ।
नेपालमा शेयरबजार उतारचढाव नाटकीय ढङ्गबाट हुने गरेको छ । कुनै कम्पनीले लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधार बजारमा भन्दा शेयरबजारका खेलाडीको नक्कली हल्लाले घटबढ हुने गरेको छ । नेपालमा भित्री कारोबारका आधारमा कुनै कारबाही दण्डसजाय भएको पाइँदैन । भित्री सूचनाको आधारमा शेयरको कारोबार भयो भन्ने अनुसन्धान गर्न पनि निकै कठिनाइ देखिन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ ले भित्री कारोबार गर्ने उपर कडा कानूनी व्यवस्था छ । तर, भित्री कारोबारभन्दा अन्य कारण शेयरबजारमा सामान्य र असामान्य उतारचढाव भइरहेको छ ।
लेखक अधिवक्ता हुन् ।