सिन्धुली । मालपोत कार्यालय सिन्धुलीको राजस्व सङ्कलन ५ वर्षमा ६ गुणाले बढेको छ । कार्यालयमा पछिल्लो समय लिखत पास गर्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्मको कारोबार सन्तोषजनक रहे पनि पछि राजस्व सङ्कलनमा कमी आउन सक्ने सूचना अधिकारी शेषराज ढकालले बताए ।
भूमिसुधार मन्त्रालयले जग्गाहरूको कित्ताकाट वर्षमा एक पटकभन्दा बढी गर्न नपाउने नियम ल्याएपछि राजस्व सङ्कलनमा यस्तो समस्या आउन सक्ने बताएका हुन् । मालपोतबाट नापी कार्यालयलाई कित्ताकाट गर्नू भन्ने आदेश दिए पनि भूमिसुधारमन्त्री आफैले अहिले नापी कार्यालयलाई वर्षमा एक पटकभन्दा बढी कित्ताकाट नगर्नू भन्ने आदेश दिन थालेपछि मालपोतका कर्मचारी अन्योलमा परेको ढकालले बताए ।
विशेष गरी लिखत पास गर्न आउनेहरू वर्षमा ४/५ पटकसम्म दोहोरिने गरेकाले राजस्वमा वृद्धि भएको हो । ‘तर, अब वर्षमा एक पटकभन्दा बढी कित्ताकाट नहुने भएपछि कारोबारमा कमी आउने छ,’ उनले भने, ‘तर भूमिसुधारको नियमले अंशबण्डाको कित्ताकाटमा कुनै रोकावट गरिने छैन ।’
पछिल्लो समय जिल्लाका जमीनहरूको मालपोत मूल्याङ्कनमा भएको वृद्धिले पनि राजस्व सङ्कलन बढेको छ । ग्रामीण क्षेत्रमा भएका सडक विस्तार र तीनओटा राजमार्ग पनि यसै जिल्लामा भएका कारण राजमार्ग र सडकले छोएका जमीनको राजस्व मूल्याङ्कन बढी भएको सूचना अधिकारी ढकालले बताए । विगत ५ वर्षको तथ्याङ्कलाई हेर्ने हो भने राजस्व सङ्कलनमा करीब ६ गुणाले वृद्धि भएको उनले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी कारोबार घडेरीको रूपमा रहेका जग्गाबाट भएको तर धनहर खेतका लिखत भने कमैमात्रामा आउने गरेको उनले बताए । पछिल्लो समय जिल्ला सदरमुकाममा रहेका धनहर खेतहरू घडेरीको रूपमा विक्री वितरण हुने गरेको भए पनि सरकारले धनहर खेतको कित्ताकाटमा रोक लगाएपछि अहिले मालपोत कार्यालयमा आउने सेवाग्राहीको चापमा समेत निकै कमी आएको ढकालले बताए ।
सरकारले महिला तथा दलितको नाममा जग्गा किन्दा राजस्वमा छूट दिने व्यवस्था गरेपछि महिलाको स्वामित्वमा जग्गा राख्नेको सङ्ख्यामा भने उल्लेखनीय वृद्धि भएको छ । अहिले कार्यालयबाट पास भएका लिखतहरूमा करीब ७० प्रतिशत लिखत महिलाको नाममा पास हुने गरेको ढकालले बताए ।