गाँजालाई लागू पदार्थ मानी यसको सेवन गर्नेेलाई गँजडी भनेर होच्याउने गरिन्छ । त्यतिमात्र होइन, गाँजाको खेती र व्यापार गर्न पनि प्रतिबन्ध छ । तर, गाँजा लागू पदार्थ मात्र होइन, औषधि पनि हो भन्ने कुरा धेरै कमलाई मात्र जानकारी छ । यस्तो विषयमा खोजी गरेर समाचार/लेख प्रस्तुत गरेकोमा अभियानलाई धन्यवाद दिनैपर्छ ।
कुनै पनि वस्तुको फाइदा र बेफाइदा दुवै हुन्छ । फाइदा मात्र गर्ने कुनै पनि वस्तु छैन र बेफाइदा मात्र गर्ने पनि कुनै वस्तु छैन । दुवै गुण भएर नै उपयुक्त मात्रामा संरक्षण र विनाश हुने गर्छ ।
नेपालमा हजारौं वर्षअघिबाट अपनाइएको आयुर्वेदिक औषधिको उत्पादन अहिले पश्चिमाहरूले सिकेर गाँजाको प्रयोग र औषधि उत्पादनलाई तीव्रता दिन थालेका छन् । नेपाल उनीहरूले उत्पादन गरेको औषधि खरीद गर्ने अवस्थामा पुगेको छ । देशको रकम विदेशिइरहेको छ । तर, हामी आफ्नै भूमिमा उब्जने गाँजाको विरोध गर्दै छौं । नेपालमा पाइने अनेकौं जडीबुटीकै रूपमा गाँजालाई चिनेर यसको वैधानिक रूपमा खेती गर्न दिनु उचित लाग्यो । कसैले बढी उपयोग गर्छ भने त्यसमा कडा नियम बनाएर कारबाही गर्न सक्नुपर्छ । औषधिका रूपमा प्रयोग गर्न सकिने गाँजामाथिको प्रतिबन्ध हटाएर आर्थिक रूपमा सबल बनौं ।
विकास पौडेल
परासी (हाल काडमाडौं)