रुकुम (अस) । मुसीकोट नगरपालिका–११ मा विद्युतीय लिफ्ट प्रविधिमार्फत खानेपानी आयोजना निर्माण हुने भएको छ । रू. २ करोड ४० लाखको लागतमा आयोजना निर्माण हुने जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनले जानकारी दिएको छ । खैरेखोला मुहानबाट लिफ्ट प्रविधिमार्फत ३ सय २० मिटरमाथिको रामपाछा गाउँमा पानी पुर्याउन थालिएको हो । कार्यालय प्रमुख इञ्जिनीयर विकेश बथानथाछेका अनुसार १ वर्षदेखि निर्माण थालिएको उक्त आयोजनाले मुहानदेखि २ सय मिटर माथिसम्म खानेपानी पुर्याएको छ । गतवर्षदेखि निर्माण शुरू गरिएको आयोजनाको झण्डै ८० प्रतिशत काम पूरा भइसकेको छ ।
आयोजनाका लागि साँखुखोला दोभान लघुजलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रयोग गरिएको छ । लागत रकममा २० प्रतिशत स्थानीय उपभोक्ताको श्रमदान र बाँकी सबै खानेपानी डिभिजनले अनुदान रकम प्रदान गर्नेछ । खानेपानी आयोजना निर्माणपछि मुसीकोट नगरपालिका–११ रामपाछा भलाक्चाका १ सय ४० घरमा खानेपानीको सुविधा पुग्नेछ ।