पैसा हामी सबैको आवश्यकता पूरा गर्ने साधन हो । जिन्दगीभर हामी ससाना आवश्यकतादेखि ठूला सपना पूरा गर्न आवश्यक पैसा कमाउनपट्टि लाग्छौं । कतिपय व्यक्ति करोडौं, अर्बौंको सम्पत्ति हुँदा पनि अझै पुगेन भनेर पैसा कमाउन लाग्छन् । कोही भने केही हजारमा पनि चित्त बुझाएर खुशीसाथ बाँच्छन् । कसैले पढाइ, इष्टमित्र, आफन्त र प्रतिष्ठा आदिलाई नै सबै कुरा ठान्छन् । अनि, कोही भने जिन्दगीको खुशी नै पैसा हो, पैसाले मात्रै खुशी दिन्छ भन्छन् । के पैसाले साँच्चै खुशी किन्न सकिएला त ?
हालै अमेरिकामा भएको एक अध्ययनले यस्तै प्रश्नको उत्तर दिएको छ । अमेरिकाको इण्डियाना राज्यस्थित प्रुडु युनिभर्सिटीका अनुसन्धाताहरूले कुनै पनि मानिस खुशी हुन अधिकतम कति पैसा चाहिएला भन्ने अध्ययन गरेका थिए, जसमा मानिसहरूलाई खुशीका लागि चाहिने पैसा स्थानअनुसार फरकफरक पाइएको छ । एकपटक अधिकतम स्तरमा पुगेपछि आयआर्जनबाट हुने जीवनसन्तुष्टिको स्तर घट्ने र खुशी पनि कम हुने अध्ययनले देखाएको छ । टेलिभिजनमा आउने विज्ञापन हेर्दा खुशी किन्न जति पैसा भए पनि पुग्दैन जस्तो लाग्छ । ‘तर, अहिले हामीले पैसामा पनि केही ‘थ्रेसहोल्ड’ देखेका छौं,’ पु्रडु युनिभर्सिटीका एण्ड्र्यू टी जेबले भने ।
खुशी र सन्तुष्टिका लागि कति पैसा चाहिन्छ भन्ने विषयमा लामो समयदेखि बहस चलिरहेको छ । तर, अध्ययनले भने यो विवाद सुल्झाउन केही उत्तर दिएको छ । एउटा व्यक्तिको जीवनको सन्तुष्टिलाई सबैभन्दा उत्तम आय स्तर ९५ हजार डलर भएको अध्ययनका क्रममा जेबले बताए । त्यस्तै, उसको भावनात्मक खुशीका लागि भने अधिकतम ६० हजार डलरदेखि ७५ हजार डलर भए पुग्ने देखिएको छ । घरपरिवारको हकमा भने यो रकम अलि उच्च हुने बताइएको छ । अध्ययनमा जीवन सन्तुष्टिमा कुनै मानिसले कस्तो काम गरिरहेको छ र अरूका तुलनामा ठूला लक्ष्य÷उद्देश्यले उसको जीवनमा कस्तो प्रभाव पर्छ भन्ने कुराको मूल्याङ्कन गरिएको थियो । उता, भावनात्मक अनुभूतिमा भने खुशी, रोमाञ्चकता, दुःख र रिसलगायत दिनहुँ उत्पन्न हुने भावनाको अध्ययन गरिएको थियो ।
अध्ययनका क्रममा स्थानअनुसार पैसाको स्तर र खुशीबीचको सम्बन्धमा विविधता पाइयो । आम्दानी अधिकतम स्तरमा पुगेपछि सबै आवश्यकता पूरा हुन्छन् । तर, कमाइ अधिकतमभन्दा माथि उक्लिएपछि व्यक्तिले आफूलाई अन्य व्यक्तिसँग तुलना गर्ने, भौतिक वस्तु किन्नतर्फ लाग्ने र यसले सन्तुष्टिको भावना घटाउने अध्ययनले देखाएको छ । यस अनुसन्धानमा ग्यालप वल्र्ड पोलमा सूचीकृत १ सय ६४ देशका १७ लाख मानिसको तथ्याङ्क केलाइएको थियो ।
(प्रस्तुति : रमा सुवेदी)
One Comment
panna kaji suwal
paisaa lay manisha kahilya khusi hudaina,jaba sama manchaya ma santusti ko bhaba mana mam audina.yadi paisaly khusi hunya bhaya billgate lay sabai pasa kina dandidai hindai ho?