यो धरतीमा मानिसको जन्म हुन्छ र जन्मेपछि मर्नु पनि पर्दछ । यो कुरा सबै व्यक्तिलाई थाहा नभएको होइन । प्रायः मानिसहरू मृत्युदेखि डराउँछन् । कतिपय डराउँदैनन् र कोही भने मर्ने समयमा दुःख सास्ती नहोस् यति मात्र चाहन्छन् । अक्सर मानिसहरूको चाहना हुन्छ, सजिलै मृत्यु होस् । तर, यी कुराहरू हामीले चाहेर हुने होइन । आफ्नो भाग्यमा कसरी मर्न लेखेको छ, त्यस प्रकार नै मानिसहरूको मृत्यु हुन्छ भन्ने मान्यता छ । यसैगरी मानसिक तनाव अर्थात् डिप्रेसन भएपछि पनि मानिसहरू बाँच्न चाहँदैनन् । यो रोग प्रायः शरीर रोग, प्रेम रोग, धन रोग तथा इगो रोगबाट हुने गर्दछ ।
यही सिलसिलामा कुरा गर्दा काल आएर भनौं या नआएर, कतिपय मानिसले सवारी दुर्घटनाबाट पनि ज्यान गुमाइराखेका हुन्छन् । तर, यसमा प्रायः एक मूर्ख व्यक्तिका कारणले गर्दा धेरै व्यक्तिहरूको ज्यान गइराखेको हुन्छ । सर्वप्रथम लामो दूरीको यात्रामा चालकको गल्तीले नै सडक दुर्घटना हुने गर्दछ । हामीकहाँका चालकहरू प्रायःजसो अनपढ, अल्लारे र रक्सी खाने स्वभावका हुन्छन् । त्यसमाथि लामो यात्राका कारण यिनीहरू निन्द्राले गर्दा आफ्नो ड्राइभिङ नियन्त्रणभन्दा बाहिर हुन्छ । त्यसकारण लामो दूरीमा सडक दुर्घटना हुने मुख्य कारण यो पनि एउटा हो ।
अब आएर हाम्रो मुलुकमा लामो सडक दुर्घटना हुन नदिन सरकार तथा सम्बन्धित निकाय नै कडा भएर अनेक कदमहरू चाल्नुपर्दछ । अन्यथा यस्ता प्रक्रियाहरू सधैं दोहोरिएर मानिसको अकालमा ज्यान गइरहन सक्छ । हामीलाई विश्वास छ, यसका लागि सरकारले केही विधि अपनाउने हो भने यस्ता दुर्घटना कम हुँदै जानेछन् ।
सर्वप्रथम सम्बन्धित निकायले चालक अनुमतिपत्र समयसमयमा जाँच गर्ने व्यवस्था गर्नु अनिवार्य छ । कारण नक्कली अनुमतिपत्र, नयाँ सिकारु ड्राइभर आदि कारणले गर्दा लामो दूरीमा सडक दुर्घटना भइराखेको हुन्छ ।
खाल्डाखुल्डी परेका बाटाहरू, पहिरो र मोडबाट बच्न सरकारले यस्ता ड्राइभरलाई बेलाबेलामा सचेत गराउनु आवश्यक छ । सरकारले सडक किनारामा भएका माटोका ढिस्काहरूलाई निर्मूल पार्नु, जोखीमयुक्त मोडलाई चौडा गर्नु, सपोर्टिङ वाल लगाउनु तथा बिग्रेका सडकहरूको समयमै मर्मत सम्भार गर्नु जरुरी छ । यदि यति कार्य सरकारबाट हुन सक्दैन भने ड्राइभर ज्यानमारा हुनुको अलावा सम्बन्धित व्यक्तिहरू पनि दुर्घटनाका बराबर हकदार हुनेछन् ।
भौगोलिक वातावरण तथा पहाडी भाग धेरै हुनु र धेरै मोडले गर्दा नै हाम्रो मुलुकको लामो दूरीमा प्रायः दुर्घटनाहरू भइराखेको हुन्छ । त्यसैले यस्तो अवस्थामा चालले रक्सी, धतुरो, गाँजा आदि खाएर सवारी हाँक्छन् भने यस्ता चालकहरूका अनुमतिपत्र सम्बन्धित निकायले खारेज गर्न सक्नुपर्दछ । साथै, कैद तथा जरीवाना पनि गर्नुपर्दछ ।
प्रायः पैसाको लोभमा खलासीहरूले सवारीमा आगन्तुकहरूलाई भेडाबाख्राजस्तै कोचेर लगिराखेका हुन्छन् । यस्ता चालक तथा खलासीलाई पनि कैद तथा जरीवाना गर्नुपर्दछ । यात्रुहरूको चापले पनि प्रायः लामो यात्रामा सडक दुर्घटनाहरू भइराखेका हुन्छन् । हाम्रोजस्तो पहाडै पहाडको मुलुक भएको कारणले गर्दा वर्षात्को मौसममा प्रायः हवाई उडान कम हुन्छ । यसै गरी, बेमौसममा लगातार वर्षात् भइराखेका बेलामा केही समयको लामो दूरी सवारीको आवतजावतमा सरकारले प्रतिबन्ध लगाइदिनुपर्दछ । यस्तो बेला बाटो चिप्लो भएर पनि गाडी दुर्घटना हुने गरेको कुरा हामीले नसुनेको होइन ।
लामो दूरीको यात्रामा चालकहरू तीव्र गतिमा गाडी चलाउँछन् । यो पनि गाडी दुर्घटना हुने कारण हो । यस्तो अवस्थामा सम्बन्धित निकायले लामो दूरीका सडकको ठाउँठाउँमा स्पिड कण्ट्रोल बोर्ड राख्नु जरुरी छ, जुन हाम्रो मुलुकमा पर्याप्त छैन ।
लामो दूरी सडकको कुरा गर्दा अहिले पनि नेपालमा कतिपय बाटोहरू साँघुरा छन् । यसले गर्दा दुईवटा गाडीहरू पनि पास हुन मुश्किल पर्दछ । यस्तो अवस्थामा सम्बन्धित निकायले बाटो तुरुन्त फराकिलो गर्नुपर्छ । जानी वा नजानीकन भएको गाडी दुर्घटनापछि प्रायः चालकहरू स्यालजस्तै भाग्ने गर्दछन् । यस्तो अवस्थामा सम्बन्धित निकाय तथा यातायात व्यवसायी सङ्घले हल्का रूपले हेरिराखेका हुन्छन् । यातायात व्यवसायी सङ्घहरू नै यस्ता गलत चालकहरूको पक्षमा लागेर उनीहरूलाई बचाउने प्रयास गरिराखेको पनि सुन्ने गरिन्छ, जुन विल्कुलै गलत कुरा हो । समग्रमा भन्नुपर्दा राज्यले लामो दूरीका सडकहरूको विकास र सुधार अझै तीव्र गतिमा गर्नु आवश्यक छ । सरकारी कर्मचारी र देश चलाउने राजनीतिक दलका नेतालाई राज्यकोषबाट बढी रकम बाँडेजस्तै सवारी दुर्घटनामा मृत्यु हुनेहरूलाई पनि बढी बीमा रकम दिनु आवश्यक छ । अन्यथा यो मुलुकमा लोकतन्त्र गणतन्त्र, सङ्घीयता आएर केही हुनेवाला छैन । कारण मानिसहरूको सोच संस्कार उही हो, बदलामा फल कहिले आउने हो, त्यो मात्र र्हेन बाँकी छ । तापनि सर्वसाधारणलाई भार परे पनि आशा गरौं, मुलुक राम्रो गतिमा जाओस् ।
रमेशकेशरी वैद्य
क्षेत्रपाटी, काठमाडौं