काठमाडौं (अस) । टोयोटा ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेटले टोयोटा ड्रिम कार आर्ट कण्टेष्टका विजेता घोषणा गरेको छ । आइतवार कम्पनीको कार्यालयमा आयोजित कार्यक्रमबीच विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
नोभेम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्म राष्ट्रियरूपमा आयोजित प्रतियोगितामा ७ सयभन्दा बढी सहभागी थिए । यो प्रतियोगिता ८ वर्षभन्दा मुनि, ८ देखि ११ वर्ष र १२ देखि १५ वर्ष गरी तीन उमेर समूहबीच सञ्चालन गरिएको थियो । प्रत्येक समूहबाट ३ जना विजेताको घोषणा गरिएको छ । टोयोटा ड्रिम कार आर्ट कण्टेष्टअन्तर्गत विश्वभरका बालबालिकाजम्मा पारेर उनीहरूले बनाएको कारका चित्रबाट भविष्यको यातायातबारे उनीहरूको सोच आदानप्रदान गरिन्छ । लोकल कण्टेष्टका रूपमा बिभिन्न देशमा आयोजना गरी विजेताको विचार तथा चित्रलाई वल्र्ड कण्टेष्टमा सहभागी गराइन्छ । अन्तराष्ट्रिय निर्णयकले विभिन्न देशबाट आएका सहभागीका आर्टमध्ये उत्कृष्ट १० को छनोट गर्दछन् । यस्तो कार्यक्रमले बालबालिकामा नयाँ सोच, अनुसन्धान गर्ने वानीको विकास गराउँछ । टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सन् २००४ देखि यो कण्टेष्टको आयोजना गर्दै आएको छ । सन् २०१७ मा ७९ देशबाट ८ लाख ३० हजार बालबालिका यसमा सहभागी भएका थिए ।