टोकियो (जापान) । सन् २०१८ को पहिलो महीनामा जापानलाई ८ महीनायताकै पहिलो व्यापार घाटा भएको छ । निर्यात आम्दानीले खनिज इन्धन आयातको खर्च थेग्न नसक्दा बाँकी विश्वसँगको व्यापारमा उसलाई घाटा भएको हो । त्यहाँको अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीमा ९ खर्ब ४३ अर्ब ४० करोड येन (८८ करोड ७० लाख डलर)बराबरको व्यापार घाटा भएको छ । यो मेयताकै पहिलो घाटा भएको मन्त्रालयको भनाइ छ । घाटाको यो आकार अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा कम हो । गतमहीना जापानले १० खर्ब २० अर्ब येन व्यापार घाटा बेहोर्ने अनुमान थियो । जनवरीमा निर्यात वार्षिक १२ दशमलव २ प्रतिशत बढी ६० खर्ब ८६ अर्ब येनमा पुगेको थियो । तर, आयात पनि ७ दशमलव ९ प्रतिशत बढेर ७० खर्ब २९ अर्ब येनमा पुग्यो । गतवर्षको सोही अवधिको तुलनामा जनवरीमा डलर/येनको विनिमय दर औसत ३ दशमलव ४ प्रतिशत बढी भएकाले पनि घाटा बढेको विश्लेषण गरिएको छ । रासस/एएफपी
जापानमा ८ महीनायताकै पहिलो व्यापारघाटा
