बाँके (अस) । महिला उद्यमी सङ्घ बाँँकेको आयोजनामा नेपालगञ्जमा १० फागुनदेखि होली महोत्सव तथा व्यापार मेला हुने भएको छ । सो महोत्सव १४ फागुनसम्म चल्नेछ । सङ्घले नेपालगञ्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले होली महोत्सव तथा व्यापार मेलाबारे जानकारी गराएको हो । मेला नेपालगञ्जस्थित बागेश्वरी मन्दिरपरिसरमा सञ्चालन हुने बताइएको छ । ५ दिनसम्म चल्ने मेलामा ४० ओटा स्टल राखिने महिला उद्यमी सङ्घ बाँकेकी अध्यक्ष सुशीला गौतमले जानकारी दिइन् । मेलाका स्टलमा महिला उद्यमीले उत्पादन गरेका खानेकुराका परिकारका साथै अन्य साम्रगी राखिनेछन् ।
होलीका लागि विभिन्न रङ, चाट, पानीपुरी, अचार, आइसक्रिम, कपडा, हस्तकलाका विभिन्न सामग्री मेलामा राखिने महिला उद्यमी सावित्री बस्नेतले बताइन् । व्यवसायमा संग्लन हुन चाहने महिलालाई उचित वातावरण सृजना गर्ने र उत्पादित वस्तुलाई बजारीकरण गर्ने आयोजकको लक्ष्य छ । विगत केही वर्षदेखि महिला उद्यमी सङ्घ बाँकेले मेला गर्दै आएको छ ।