फागुन ८, कारकास (भेनेजुएला) । विश्वमा क्रिप्टोकरेन्सीको ‘क्रेज’ बढेसँगै व्यक्ति र कम्पनीहरू मात्रै होइन कयौं देशले पनि क्रिप्टोकरेन्सी लञ्च गर्ने रूचि देखाएका थिए । यस्तो रुचीेमा भेनेजुएला सबैभन्दा अगाडि देखिएको छ । भेनेजुएलाले मङ्गलवार कमोडिटी समर्थित ‘पेट्रो’ क्रिप्टोकरेन्सीको प्रि–सेल लञ्च गर्दैछ ।
राष्ट्रपति निकोलास मदुरोले करीब २ महीना अघि नै यो योजनाको घोषणा गरेका थिए । यो डिजिटल मुद्राले पछिल्लो समय भेनेजुएलाले सामना गरिरहेको कर्जा सङ्कट समाधान गर्ने विश्वास गरिएको छ । यसले अमेरिकी प्रतिबन्धको प्रभाव कम गर्ने र हाइपर इन्प्mलेशन (नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुगेको महङ्गी) विरुद्ध लड्न मद्दत गर्ने अपेक्षा गरिएको छ । भेनेजुएलाको पेट्रो टोकन त्यहाँको तेल, ग्यास, सुन र हिरा रिजर्भले समर्थित हुने बताइएको छ ।
यस मुद्रामा कतार, टर्कीलगायत मध्य पूर्वका केही देशले लगानी गर्न सक्ने भेनेजुएली क्रिप्टोकरेन्सी नियामकले केही दिन अघि बताएका थिए । यसमा भेनेजुएलामाथि आर्थिक प्रतिबन्ध लगाएका यूरोपेली देश र अमेरिकाका लगानीकर्ताहरुले पनि लगानी गर्ने बताइएको छ । अधिकारीहरुका अनुसार पेट्रो क्रिप्टोकरेन्सी शुरुमा भेनेजुएली बोलिभारका लागि भने उपलब्ध हुनेछैन । क्रिप्टोकरेन्सीले त्यहाँको कर्जा सङ्कट समाधान गर्ने अपेक्षा सरकारले गरेको भएपनि केही विश्लेषकहरुले भने यसले अर्थतन्त्र र त्यहाँका जनतालाई धेरै लाभ हुन्छ भन्नेमा सन्देह गरेका छन् । एजेन्सी