प्यूठान (अस) । जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालू आवमा पशु बीमा गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष ४० प्रतिशत बढीले बीमा गराएका छन् । पशु बीमामा सरकारले अनुदान दिने भएपछि पशु बीमा गर्ने किसानको सङ्ख्या बढेको जिल्ला पशु सेवा कार्यालय प्युठानले बताएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालू आवको माघ मसान्तसम्ममा ९ हजार पशुपक्षीको बीमा भएको छ । पशु बीमामा कुल बीमित मूल्यको ७५ प्रतिशत नेपाल सरकारले लगानी गर्ने भएकाले कृषकहरू पशु बीमातर्फ आकर्षित भएको कार्यालयका प्रमुख डा. शरणकुमार पाण्डेले बताए । उनका अनुसार चालू आवको माघ मसान्तसम्ममा २ हजार ५ सय पशु र ६ हजार ५ सय कुखुराको बीमा भएको छ । बीमा भएको पशुपक्षीको कुल बीमाङ्क रकम ३ करोड ६० लाख रुपैयाँ रहेको उनले बताए । जिल्लामा पशु बीमा गराउनेमा धेरैजसो व्यावसायिक रूपमा पशुपालन गर्ने कृषक छन् । सरकारले पशु बीमामा अनुदान दिने भएसँगै जिल्लामा पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढेको छ ।