फागुन १०, धनकुटा (अस) । ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनाराका साथ फागुन २० देखि ३० गतेसम्म धनकुटामा ‘चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी’ आयोजना हुने भएको छ ।
नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै व्यापार तथा कृषि मेला सहितको महोत्सव आयोजना गर्न लागिएको हो । बुधवार मेला मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घ, धनकुटाले पत्रकार सम्मेलन गरी व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताएको छ । एकसय स्टल अग्रिम बुकिङ भइसकेको स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले बताए ।
महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछ । स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवम् परिकारसमेत प्रदर्शनीमा राखिनेछ । मेलालाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय र राष्ट्रियस्तरका कलाकारको सांस्कृतिक प्रस्तुति एवम् बालबालिकाका लागि बालउद्यानसमेत रहने धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेले बताए ।
मेला अवधिभर करीब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एवम् तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घले यसभन्दा अघि २०६५, २०६८ र २०७१ सालमा पनि महोत्सवको आयोजना गरेको थियो । रासस