लमजुङ (अस) । जिल्लाको दोर्दी गाउँपालिकाका कृषकलाई उन्नत जातका मकैको बीउ वितरण गरिएको छ । गाउँपालिकामा मकैको उत्पादन वृद्धिका लागि कृषि विकास शाखाले बीउ वितरण गरेको हो ।
परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले शाखाले ७५ प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरेको कृषि शाखाका गोविन्दराज सेढाईंले बताए । शाखाले अरूण २, रापपुर कम्पोजिट र मनकामना ३ जातका मकैको बीउ वितरण गरेको छ । गाउँपालिकामा कृषि कार्यक्रम सञ्चालनका लागि ४० लाख बजेट छुट्याइएको छ ।
शाखाका अनुसार यो वर्ष अनुदानमुखी कार्यक्रम, नयाँ प्रविधिमैत्री कार्यक्रम, तालीम सञ्चालन, तरकारीको बीउ वितरणलगायतका कार्यक्रम सञ्चालन हुनेछ । कृषि शाखाले लक्षित वर्गका लागि २ लाख ७० हजार बजेटबराबरको तरकारीको बीउ वितरण गरिसकेको जानकारी दिएको छ ।
जिल्ला कृषि विकास कार्यालयमा विशेष कृषि उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण कार्यक्रम सञ्चालन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।