लण्डन (बेलायत) । बेलायती बहुराष्ट्रिय बैङ्क बार्क्लेजमा महिला कर्मचारीको आम्दानी पुरुषको भन्दा ४३ दशमलव ५ प्रतिशतसम्म कम रहेको कम्पनीले सरकारलाई बुझाएको आम्दानी असमानताबारे तथ्याङ्कले देखाएको छ । आम्दानी असमानताबारे १ हजार १ सय ५४ ओटा कम्पनीमा गरिएको एक सर्वेक्षणअनुसार जम्मा २८ ओटा कम्पनीले मात्र आफ्नो कम्पनीमा प्रतिघण्टाको आम्दानी असमानता बाक्र्लेजको औसतभन्दा धेरै भएको बताएका थिए । यद्यपि, बाक्र्जेलले महिला र पुरुष दुवै कर्मचारीलाई समान तलब दिने बताएको छ । कम्पनीमा गर्न बाँकी अझै पनि धेरै कुरा रहेका कारण महिलाले वित्तीय सेवामा प्रगति गर्न सक्ने बाक्र्लेजका प्रमुख कार्यकारी अधिकारी जेस स्टेलीले भनेका छन् ।
४३ दशमलव ५ प्रतिशत औसत लैङ्गिक आम्दानी अन्तरले लगानी बैङ्क एकाइ बाक्र्लेज इण्टरनेशनलको अवस्था झल्काएको छ । त्यसैगरी, कम्पनीको बेलायती खुद्रा बैङ्कमा महिलाको आम्दानी पुरुषको तुलनामा औसत १४ दशमलव २ प्रतिशत कम रहेको छ भने होल्डिङ कम्पनी बाक्र्लेज सर्भिसेजमा यो २९ दशमलव ९ प्रतिशत रहेको छ । बैङ्कले तीनओटै एकाइको समग्र तथ्याङ्क भने सार्वजनिक गरेको छैन ।
कम्पनीमा रहेको आम्दानी असमानतालाई एक झट्काको नाम दिँदै ट्रेजरी सेलेक्ट कमिटिका अध्यक्ष निकी मोर्गनले कुनै पनि वित्तीय संस्थामा भएको आम्दानी अन्तरबारे बुझाउन कम्पनी तयार हुन आवश्यक रहेको बताएका ट्रेजरी सेलेक्ट कमिटीका अध्यक्ष निकी मोर्गनले कुनै पनि वित्तीय संस्थामा भएको आम्दानी अन्तरबारे बुझाउन कम्पनी तयार हुन आवश्यक रहेको बताएका छन् । बैङ्कमा महिला प्रतिनिधिको सङ्ख्या बढिरहेको भए पनि यहाँको तल्लो तहमा अझै पनि ठूलो सङ्ख्यामा महिला रहेका छन् जसको तलब न्यून छ भने वरिष्ठ पदमा भने पुरुषको वर्चस्व कायम छ र उनीहरूलाई दिइने तलबको आकार पनि मोटै छ । वित्तीय क्षेत्रमा आम्दानी अन्तरमा सुधार ल्याउने कार्य भए पनि औद्योगिक क्षेत्रमा भने प्रगति सुस्ताएको छ । बेलायती सरकारलाई लैङ्गिक आम्दानी अन्तरबारे तथ्याङ्क पेश गर्ने कार्यले कार्यालय र समाज दुवै क्षेत्रमा व्यापक रूपमा समानता विस्तार गर्न सहयोग पुग्ने अनुमान गरिएको छ । आम्दानी विवरण पेश गर्ने बाक्र्लेज पहिलो ठूलो बैङ्क हो । आम्दानी विवरण पेश गरेका सबै वित्तीय तथा बीमा कम्पनीमा औसत आम्दानी अन्तर १४ दशमलव ८ प्रतिशत रहेको छ । बाक्र्लेजमा महिलालाई दिइने बोनस पनि पुरुषको तुलनामा ४६ दशमलव ९ प्रतिशत कम रहेको छ । एजेन्सी