टोकियो (जापान) । सोमवार एशियाली शेयर बजार बढेको छ । अमेरिकी ऋणपत्रको प्रतिफल ४ वर्षको उचाइबाट ओरालो लागेपछि वालस्ट्रीटमा अमेरिकी शेयर बजार उकालो लागेको थियो । यसैक्रममा, मुद्रा डालोमा रहेका अन्य मुद्राको तुलनामा डलरको भाउ पनि घटेको र लगानीकर्ताहरू केन्द्रीय बैङ्कका नयाँ प्रमुखले केकस्ता योजनाहरू ल्याउँछन् भन्ने कुराको पर्खाइमा रहँदा एशियाली बजारले टेवा पाएको हो ।
सोमवारको कारोबारमा जापानी शेयर सूचक निक्केई २२५ १ दशमलव १९ प्रतिशत बढेको थियो भने प्रविधि, वित्तीय र अटोक्षेत्रको शेयर उचाइमा पुगेको थियो । त्यस्तै, कोरियाली बेञ्चमार्क कोस्पी शून्य दशमलव २५ प्रतिशत बढेर २ हजार ४ सय ५७ दशमलव ६५ अङ्कमा पुगेको थियो । अष्ट्रेलियाली बेञ्चमार्क एसएण्डपी÷एएसएक्स २०० शून्य दशमलव ७१ प्रतिशत बढेर ६ हजार ४२ दशमलव २ अङ्कमा पुगेको थियो भने हङकङको हाङसेङले शून्य दशमलव ७३ प्रतिशत वृद्घि हासिल गरेको थियो । चिनियाँ शेयर सूचक साङहाई कम्पोजिट इण्डेक्स पनि १ दशमलव २५ प्रतिशत बढेर ३ हजार ३ सय ३० दशमलव २५ अङ्कमा उक्लिएको थियो ।
बजारमा फेड प्रमुख जेरोम पावेलले ब्याजदर वृद्घिबारे केकस्ता निर्णय गर्छन् भन्ने कुराको प्रतीक्षा पनि बढी नै रहेको छ । उक्त दिन मुद्रा डालोमा रहेका ६ ओटा मुद्राको तुलनामा डलर सूचकमा कमी आएको थियो । गतहप्ता केही बढेको डलर सूचक सोमवार भने घटेर ८९ दशमलव ६५८ अङ्कमा आएको थियो । एजेन्सी