Latest posts by राजकमल सिंह (see all)
फागुन १६, जनकपुरधाम । प्रदेश नं २ मा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । बुधवार प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले जनकपुर चुरोट कारखाना लिमिटेडको हलमा ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।
लामो समयको कसरतपछि मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुखले सङ्घीय समाजवादी फोरमबाट २ जना र राजपा नेपालबाट २ जना मन्त्रीलाई सपथ गराएका हुन् ।
फोरमबाट ज्ञानेन्द्र यादव आन्तरिक मामिला तथा कानून र शैलेन्द्र कुमार शाह भूमि, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका हुन् । राजपाबाट राम नरेश राय उद्योग पर्यटन, वन तथा वातावरण र नवल किशोर शाह सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् ।
यसैगरी फोरमबाट उषा यादव, सरोज सिंह र योगेन्द्र रायले क्रमशः अर्थ, आन्तरिक मामिला तथा कानून र भूमि व्यवस्था राज्यमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । राजपाले भने राज्यमन्त्री सिफारिस गरेको छैन ।
शपथ ग्रहण पश्चात भूमि, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र कुमार साहले कृषि क्षेत्रमा लगानी बढाउन केन्द्रीय सरकारलाई आग्रह गरेका छन् । कृषि क्रान्ति नभएसम्म मुलुकले विकासको गतिमा फड्को हान्न नसक्ने भएकाले केन्द्रीय सरकारले कृषि र पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा उनले जोड दिएका हुन् ।
कृषि र पर्यटन क्षेत्रमा लगानी गरे मात्र युवा जनशक्ति विदेशिन बाध्य नहुने जानकारी हुँदाहुँदै सरकारले लगानी नबढाउँनु कमजोरी रहेको मन्त्रीहरुले टिप्पणी गरेका छन् । प्रदेश सरकारले पूर्णता पाएसँगै विकास तथा प्रदेशको सुशासन कायम गर्न स्थलगत अनुगमन तथा घरदैलो कार्यक्रमलाई उत्साहका साथ अगाडि बनाउने प्रतिवद्धता उनीहरुले व्यक्ति गरेका छन् ।